पुलिसलाई हराउँदै
0

Shares

विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै थ्रि स्टारले झापासँग सेमिफाइनलमा भेट पक्का गरेको छ।

टाइब्रेकरमा भाग्यमानी सावित हुँदै थ्रि स्टार क्लब मगमग झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो।

टाइब्रेकरमा ३-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। सेमिफाइनलमा थ्रि स्टारले मगमग झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ। निर्धारित ९० मिनेटमा खेल बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।

टाइब्रेकरमा थ्रि स्टार क्लबका विजय धिमाल, बुद्ध चेम्जोङ र रुपेश केसीले गोल गरेका थिए भने विक्रम लामाको प्रहार पुलिसका गोल किपर शत्रुघन चौधरीले बचाउ गरेका थिए।

पुलिसका अजित भण्डारी र भरत शाहको प्रहार थ्रि स्टारका गोलरक्षक एलेन न्यौपानेले बचाएका थिए। रवि पासवानको प्रहार आकाशिएको थियो। पुलीसको तर्फबाट प्रहार भएका कुनै गोलले जाली नचुमेपछि तीन गोल गर्ने थ्रि स्टार विजयी भएको हो। यो प्रतियोगितामा पहिलो पटक निर्णय टाइब्रेकरबाट गरिएको थियो।

खेलको म्यान अफ द म्याच पुलिसका गोलरक्षक एलेन न्यौपाने भए। उनले नगद १५ हजार रुपैयाँ पाए।

बिहिबारको खेल क्यामरुनको दाउफिन्स फुटबल क्लब क्यामरुन र लाली रुपन्देही ११ एफसीबीच हुने आयोजकले जनाएको छ।

खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा विजेता टिम थ्रि स्टारका कोच मेघराज केसीले आफ्ना चार जना महत्वपूर्ण खेलाडीको अनुपस्थितिमा सोचेअनुसारको प्रदर्शन गर्न नसकिएको बताए।

थ्रि स्टारका चार जना खेलाडी उमेर समूहको राष्ट्रिय प्रतियोगिताका लागि क्लोज क्याम्पमा छन्। उनले झापासँगको खेलमा फरक रणनीतिका साथ मैदानमा उत्रने समेत बताए। 

पुलिसका प्रशिक्षक अनन्तराज थापाले पेनाल्टीमा युवा टिममा अनुभवको कमी रहेको स्वीकार गरे।

उनले पहिलो हाफमा पाएको अवसरको सदुपयोग गर्न नसक्दा दबाबका कारण स्कोर हुन नसकेको बताए। पुलिसले पहिलो हाफका गोल गर्ने सुन्दर मुभहरू बनाएको थियो। 

प्रतियोगिताको बुधबारको खेलमा टिकट काटेर खेल हेर्न आएका गरामनीका दिपक पौडेलले २० इन्चको एलइडी टेलिभिजन पाएका थिए। कार्यक्रममा क्यान्सर रोगबाट पीडित झापा जिल्ला फुटबल संघका पूर्व सचिव तिलक गुरुङलाई आयोजकका तर्फबाट २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो।

Related Article