लोकतन्त्रका नाममा लुटतन्त्र : राप्रपाको मेची-महाकाली यात्रा समापन
0

Shares

राप्रपा अध्यक्ष कमल थापाले लोकतन्त्रका नाममा लुटतन्त्र चलिरहेको आरोप लगाएका छन् । उनले राजसंस्थासहितको हिन्दु राज्य बनाउने एजेन्डामा समाहित हुन नेत्रविक्रम चन्दको नेकपादेखि पूर्वराजासम्मलाई आह्वान गरे ।राप्रपाले फागुन १५ मा ताप्लेजुङबाट सुरु गरेको 'मेची महाकाली स्वाभिमान यात्रा' को शुक्रबार राजधानीमा समापन गर्दै थापाले हिन्दु राष्ट्र बनाइछाड्ने घोषणा गरे ।'राजादेखि विप्लवहरुसम्म अटाउने पार्टी राप्रपा हो,' भृकुटीमण्डपमा आयोजित सभामा उनले भने, 'हिन्दुराष्ट्र पुनःस्थापना गराइछाड्छौं ।' काठमाडौंको चिसो खाल्डोलाई अब हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डाले तताउने थापाको उद्घाेष थियो । 'काठमाडौं खाल्डो तात्न समय लाग्छ । जब ताप्छ, सिंगो देश जुरुक्क उठ्छ र परिर्वतनको अगुवाई गर्छ । हामी राजधानीलाई उठाउछौं, जगाउछौं र नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापना गरेरै छाड्छौं,' उनले भने ।


थापाले नेत्रविक्रम चन्द समूहका गतिवधिमा सरकारले लगाएको प्रतिबन्धको पनि विरोध गरेका छन् । प्रतिबन्ध चन्दलाई नभएर बालुवाटार र सिंहदरबार वरिपरिका लाई लगाइनुपर्ने उनले बताए । 'एनसेलको ४० अर्बको कर छली होस् वा बाइडबडी खरिद प्रकरण अथवा ३८ क्विन्टल सुन तस्करी प्रकरण, ठुला पार्टीको आडमा भएकाले अपराधी पत्ता लाग्दैनन्,' थापाले भने, 'प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ र गर्नेको अनुहार नहेर्ने भन्नुभएको छ । प्रधानमन्त्रीज्यू तपाई भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्नुहुन्छ भने एनसेल, सुन तस्करी र वाइडबडी प्रकरणका अपराधीलाई कारबाही गरेर देखाउनुस् ।'

सरकारले सीके राउतसँग गरेको सहमति राष्ट्रहितविपरित र रहस्यमय रहेको थापाको भनाइ थियो । 'मैले दस्तावेज पढे । प्रष्ट हुन्छ, कि त्यो राष्ट्रहितविरुद्धको एउटा विवादास्पद र रहस्यमय सम्झौताको पुलिन्दामात्र हो,' उनले भने, 'त्यो दस्तावेजमा कहीँकतै सीके राउतले विखण्डनको एजेण्डा परित्याग गरेको उल्लेख छैन ।'

थापाले २०७० सालको चुनावपछि सरकारमा सहभागी भएर गलत गरिएको भन्दै आगामी दिनमा सत्तामुखी राजनीति नगर्ने घोषणा गरे । विगतमा सत्तामा गएको जनताले नरुचाएकै कारण भोट घटेको दृष्टान्त थापाले आसमभामा पेस गरे ।

'म निवेदन गर्दछु । आगामी दिनमा राप्रपाले सत्तामुखी राजनीति गर्ने छैन र जस्तोसुकै प्रतिकुल अवस्थामा पनि हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा छोड्ने छैन,' उनले भने । भृकुटीमण्डपमा सभा हुनुअघि शुक्रबार बिहान ललितपुरबाट भक्तपुर हुँदै राप्रपाका नेता कार्यकर्ताले काठमाडौंसम्मको यात्रा गरेका थिए । सभालाई नेताहरु दीपक बोहरा, बुद्धिमान तामाङले पनि सम्बोधन गरेका थिए ।
Related Article