गुठी विधेयक फिर्ता लिइयोस्’ संस्थानलाई खारेज गरेर प्राधिकरण बनाउने त्यही प्राधिकरणमार्फत गुठी को जग्गा बेच्ने र धर्म लोप गर्ने खेल ।
0

Shares

गुठी लिच्छवीकालभन्दा पहिलाको सभ्यता र परम्परा हो । सभ्यता र परम्परा संरक्षण गर्नका लागि धर्मशाला पाटी, पौवा, ढुंगेधारा, कुवा, पोखरी जस्ता परोपकारिक भावनाले आफ्नो जीवनभरको कमाईबाट भगवानको नाममा छुट्याइएका चलअचल सम्पत्ति नै गुठी हो ।

अर्को शब्दमा भन्नुपर्दा दाताले आफ्नो सम्पूर्ण हकअधिकार भगवानको नाममा छुट्याइदिएको सम्पत्ति हो । देशभरि दुई हजार २८२ राजगुठी छन् । त्यसमध्ये काठमाडौंमा ५५६ वटा राजगुठी छन् ।रैतानी, अधिनस्थ र तैनाथी गरी देशभरि १ लाख १० हजार रोपनीभन्दा बढी जग्गा छ । जसमध्ये पाँच लाख ६१ हजार ९९० रोपनी पहाडमा र तराईमा ६६ हजार ३३० विगाहा छ ।

गुठीको रैतानी जग्गा पहाडमा ३ लाख १५ हजार ४७२ रोपनी र मधेशमा ६२ हजार २५६ विगाहा छ । त्यस्तै, अधिनस्थ जग्गा पहाडतर्फमा २ लाख ४३ हजार ६०७ रोपनी र मधेशतर्फ २१ सय ९६ विगाहा छ ।तैनाथी जग्गा २९ सय ११ रोपनी पहाडमा र १८ सय ७८ विगाहा तराईमा छ ।

पहिला मान्छेहरू जति धेरै परोपकारी काम गर्थे, उति नै मनमा शान्ति महशुस गर्थे । सत्य बोल्नुस्, धर्म गर्नुस् । त्यही धर्मले तँपाईलाई राम्रो गर्छ भन्ने मान्यता थियो । त्यही भएर प्रशस्त मठमन्दिर स्थापना भए ।

मन्दिरमात्रै स्थापना गरेर त भएन, त्यसलाई अविछिन्नरुपमा सञ्चालन गर्नका लागि त खर्च चाहियो । त्यसका लागि हाम्रा पूर्खाहरूले जल, कुश, तिल लिएर आफ्नो नामको जग्गा भगवानका नाममा चढाए । त्यही आयस्ताबाट मन्दिर सञ्चालन हुन थाले । मन्दिरमा पुजारी, सुसारे, पौवाले हुन्छन् ।

जग्गा बचाउन खोज्दा मार्ने धम्की

वि.स. १८६२ मा रणबहादुर शाहले बैसठ्ठी हरण गरे । त्यतिबेला उनले गुठी, व्यक्ति सबैको जग्गा हरण गरे । बैसठ्ठी हरणपछि उनको परिवारमा अनिष्ट हुन गयो । त्यसपछि रणबहादुरले मन्दिर बनाउने निर्णय गरे ।विसं.१८६९ मा आफ्नी साहिली श्रीमती लक्ष्मीदेवीका नाममा लक्ष्मीश्वर महादेव नामाकारण गरेर सयौं रोपनी जग्गा राखीदिए । काठमाडौंको पचलीमा लक्ष्मीश्वर मन्दिर स्थापना भयो । त्यहाँ वरिपरि धर्मशाला, पचल, वासस्थान निर्माण गरियो ।

म यो मन्दिरको पुजारी हुँ । मन्दिर स्थापनाकालदेखि नै मेरा बराजुहरू यो मन्दिरको पुजारी हुनुहुन्थ्यो ।

पहिला यो मन्दिरलाई आवश्यक खर्च हनुमानढोका दरबारबाटै पठाइन्थ्यो । गुठी संस्थानको अभिलेखअनुसार मन्दिरमा अहिले ७२/७३ रोपनी जति होला । सम्पत्ति कति छ, के के गर्ने भन्ने कुरा लक्ष्मीश्वर मन्दिर अगाडिको शिलालेखमा विस्तृतमा लेखिएको छ ।त्यो जग्गा संरक्षण गर्न खोज्दा मलाई ज्यान लिने धम्की दिए । पत्रपत्रिकामार्फत समेत धम्काइयो ।

सुरक्षाको माग गरेर प्रहरी र गुठी संस्थानमा निवेदन दिएँ । संस्थानले ज्यु–ज्यानको सुरक्षा दिनु होला भनेर प्रहरीलाई पत्र लेखेको थियो ।

महानगरपालिकाले पनि गुठीको त्यो जग्गामा कम्प्लेक्स बनाउन लागेको थियो । नाप्नसमेत आइसकेको थियो । मन्दिर जीर्ण भइसकेको छ, मतलब छैन । मन्दिर संरक्षणमा वास्ता छैन । त्यो सानो टुक्रा जग्गामा आँखा किन ?

मसँग भएको सबै प्रमाण देखाएँ । तँपाई पुजारी हो । चार/पाँचवटा कोठा दिन्छु भन्न आए । तिमी पुजारी हो । तिम्रो काम पूजा गर्नु हो । पूजा मात्रै गरेर बस भन्न आए ।अहिलेसम्म मैले संरक्षण गरेको छु भन्नुको अर्थ हामी सबै मिलेकाले संरक्षण भएको हो । संसदमा पुगेको विधेयक पारित भयो भने गुठी रहँदैन ।

भगवानसँग पनि मोहीयानी हक ?

विसं. ०२१ साल कात्तिक १७ गते गुठी संस्थान स्थापना पश्चात सबै गुठीहरू त्यही संस्थान मातहत सञ्चालन हुने भए । यस मन्दिरको लालमोहर, जग्गा जमिन, गरगहना लगायतका सबै सम्पत्ति गुठी संस्थानलाई अमानतमा दिइयो ।

विसं. ०३३ सालमा जौ, कुश, तिल राखेर संकल्प गरिइएको जमीनमा पनि मोहीयानी हक दिन लगाउने नियमहरू ल्याइयो । भगवानको जग्गामा पनि मोहीयानी हक लाग्छ र ? भगवानको नामको जग्गा त संरक्षण, सम्वद्र्धन मात्रै हुनुपर्ने हो ।

मोहीयानी हक पनि पहिला चार भागको एक भाग दिने भन्ने थियो । त्यसपछि एकतिहाई दिने भनियो । अनि आधा–आधा हुने भनियो । त्यो आधा जग्गा पनि रजिस्ट्रेसन पास गरेमा बेचविखन गर्न समेत पाइने बनाइयो । त्योअनुसार रैतानी जग्गा बेचविखन हुने भयो । अधीनस्थ जग्गा गुठीकै हो, तर कुनैमा मोही हुन्छ, कुनैमा हुँदैन ।तैनाथी जग्गा बेचविखन गर्न पाउँदैन । यसको पूर्ण स्वामित्व गुठी संस्थानमा छ । तर, यो विधेयक पारित भयो भने तैनाथी जग्गा पनि बिक्री गर्न पाउँछ । धर्मशाला समेत बेचविखन गर्न पाउने भनिएको छ ।

संस्थानलाई खारेज गरेर प्राधिकरण बनाउन भनिएको छ । त्यही प्राधिकरणमार्फत बेच्ने काम हुन्छ ।

लिच्छवीकालदेखिकै पुजारी, गुठारीको हक अधिकार स्वतः निस्क्रिय हुने भनिएको छ । यसले पुजारी–गुठारीलाई अन्यायमा पार्छ । मासिक एक मुरी धान पाइन्छ । अहिलेको मूल्यमा भन्दा दुई हजार रुपैयाँ जति पाइन्छ ।

म पुजारी रहेको लक्ष्मीश्वर मन्दिरमा सूर्य पूर्जा गर्दा पुजारीले दैनिक ३० पैसा पाउँछ । अन्त पनि त्यस्तै होला । अहिलेको जमानामा मासिक नौ रुपैयाँले के होला ?

यसरी गुठारी–पुजारीहरू आफैंमा पीडितमा थिए । झन पीडित बनाउने भए, हक अधिकार निस्क्रिय हुने भए ।

त्योभन्दा पनि ठूलो कुरा बचेखुचेको तैनाथी जग्गा पनि बेचविखन गर्न पाउने बनाउन लागिएको छ । जग्गा दिनेहरूले बेचविखनका लागि त दिएका थिएनन् । भगवानको नाममा दिएको जग्गालाई अहिले बेचेर खान मिल्छ ?

जस्तो– हाम्रै कुरा गर्नुहुन्छ भने बासस्थान भनेर १० आना दुई पैसा जग्गा दिइएको छ । लालमोहरमा समेत लिखित गरेर दिइएको छ ।

गुठीकै कर्मचारीले घुस मागे

विसं. ०२१ सालमा नापीको समयमा जग्गाधनी र मोही दुबै थिएन । गुठीको पुजारीको नाताले मैले संरक्षण गर्दै आएको छु । लालमोहरमा पुजारीलाई दिएको भन्ने स्पष्टै छ ।

गुठीका नाममा रहेको त्यत्रो जग्गा त हिनामिना भयो । मसँग भएको अलिकति जग्गा हिनामिना हुन दिन्न भनेर ०६५ सालमा महानगरपालिकामा गएँ । त्यसपछि महादेवकै नाममा दर्ता गर्नुपर्‍यो भनेर गुठी संस्थानमा निवेदन दिएँ ।गुठी संस्थानका कर्मचारीहरूले यो जग्गा त तपाईकै नाममा दर्ता गर्न मिल्छ । किन तपाई गुठीको नाममा दर्ता गर्नुहुन्छ ? अलिकति खर्च गर्नुस् तपाईकै नाममा लालपूर्जा ल्याइदिन्छु भनेका थिए ।

यो विधेयकको व्यवस्थाले व्यक्तिगतरुपमा मलाई फाइदै हुन्छ । दशौं करोड पर्ने जग्गा मेरो नाममा आउँछ । तर, भगवानको नामको जग्गा म लिन चाहन्न । त्यो त भगवानै नाममा रहनुपर्छ ।

साँधमा आफ्नो जग्गा भएको व्यक्तिले पनि गुठीको जग्गा कमाउँथे । धानसँगसँगै पाक्यो भने पहिला गुठीको जग्गाको काटिन्थ्यो । किनभने, एकदाना पनि गुठीको धान आफ्नोमा मिसिनुहुँदैन भनेर यस्तो गरिन्थ्यो । कहाँ त्यो एकदाना चामल पनि खानुहुँदैन भन्ने सोचाई, कहाँ अहिलेको विधेयकको यस्तो व्यवस्था ?
यो पनि पढ्नुहोससरोकारवालाद्वारा गुठी विधेयकको विरोध, पुनर्विचार गर्न माग

भगवानका नाममा राखिदिँदा वैकुण्ठवास हुन्छ । मनमा शान्ति प्राप्त हुन्छ भनिन्थ्यो । दान दिन्थे । मन्दिर स्थापना गर्थे । तर, अहिलेको विधेयक त्यसको ठीक विपरीत आएको छ ।

१० वर्ष पहिलेदेखि बस्दै आएको प्रमाणित भएमा न्यूनतम दस्तुर लिएर जग्गा व्यक्तिलाई दिने भनिएको छ । यो एकदमै गलत हो । मैले बासस्थानका लागि पाएको जग्गा स्वतः मेरै नाममा आउने भयो । तर, भगवानको अधिकार भएको जग्गा त मेरो हुनु भएन नि ।

दायित्व पूरा गर्ने कि नालायक हुने ?

विसं. ०६४ सालमा बाबुराम भट्टराई अर्थमन्त्री भएका बेलामा कुमारी जात्राको बलीको बजेट काट्यो । त्यसपछि जात्रा चलेन । चारैतिर विरोध भयो । तपाईलाई थाहा छ त्यो रकम कति थियो ? एउटा बलीको जम्मा पच्चीस सय–तीन हजार रुपैयाँ । भट्टराईले त्यो निर्णय सच्याएर बजेट सुचारु गर्नेभएपछि बल्ल जात्रा चल्यो । धर्म, संस्कृतिको कुरा कति संवेदनशील हुन्छ भन्ने यसले देखाउँछ ।

गुठी संस्थानले आफूले जिम्मा लिएको गुठीको सम्पत्ति संरक्षण गर्न सकेको छैन । कपुत सन्तानजस्तै आफ्नो भूमिकामा खरो उत्रन नसकेपछि यो संस्थान खारेजीको अवस्थामा पुगेको छ ।

पूर्वजहरूले छाडेर गएका मठमन्दिर, सम्पदाहरू संरक्षण गर्न नसक्नु भनेको त हामी नालायकै हुनु हो । त्यसमा प्रमुख भूमिका मन्त्री, नेताहरूको छ । उहाँहरूले यस्तो विधेयक ल्याउँदा सरोकारवालासँग छलफल समेत गर्नुभएन । आफ्नो निजी स्वार्थ पूरा गर्ने गरी विधेयक ल्याइयो ।

यो पास भयो भने हाम्रो सांस्कृतिक धरोहर समाप्त हुन्छ । धर्मशास्त्रमा भनिएजस्तो संस्कृति बिग्रियो भने विकृति आउँछ, विकृतिमा पनि विकृति आयो भने विनासै हुन्छ । यो विधेयकले त्यसैतर्फ संकेत गरेको छ । त्यसकारण यो विधेयक कदापि पास हुनुहुँदैन ।

(लक्ष्मीश्वर मन्दिर, राजगुठीका पुजारी राजोपाध्यायसँगकाे वार्तामा आधारित)

Related Article